२०८२ कात्तिक ११ , सोमबार

कनकासुन्दरीमा ६०१ जनाले गरे निःशुल्क आँखाको परीक्षण



२४ चैत्र २०८१ आईतवार

जुम्ला   

जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित हाट सिँजा स्वास्थ्य चौकीमा सम्पन्न दुईदिने निःशुल्क आँखाको शिविरमा ६०१ जनाले आँखा परीक्षण गराएका छन्।

गाउँपालिकाको आर्थिक सहयोग, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा कनकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा आयोजना गरिएको शिविर शनिबार सम्पन्न भएको हो।

स्वास्थ्य निरीक्षक बिरेन्द्र प्रसाद उपाध्यायका अनुसार शिविरमा ६०१ जनाको आँखा परीक्षण, ४६ जनाको मोतिविन्दुको शल्यक्रिया तथा ३०० जनालाई निःशुल्क चस्मा वितरण गरिएको बताउनु भयो ।

“हामी प्रत्येक वर्ष गाउँमै पुगेर नागरिकलाई निःशुल्क आँखासम्बन्धी सेवा दिँदै आएका छौं,” उपाध्यायले भने, “यसपटक पनि नागरिकलाई घरआँगनमै गुणस्तरीय सेवा पुर्‍याएका छौं।”

शिविरको उद्घाटन कनकासुन्दरी गाउँपालिका कावा अध्यक्ष भै बहादुर बुढाले गर्नु भयो  । दक्ष तथा अनुभवी चिकित्सकहरूमार्फत सेवा प्रदान गरिएको उक्त शिविरमा उपचारपछि बिरामीलाई घरसम्म पुर्‍याउने, खानबस्नको व्यवस्था तथा फलफूल समेत निःशुल्क प्रदान गरिएको थियो।

प्रकाशित मिति : २०८१ चैत २४ गते आइतबार